Category Archives: News and Stories

Here are news and news stories published in Newspapers in Nepalese language

फरक अनुभवका एक महिना

जाम्बिया आउने भनेपछि मेरो धेरै समय यो देशको बारेमा इन्टरनेटबाट अध्ययन गर्न मै बित्यो । जाम्बिया आइप्गेपछि पहिलो दिन गएर बसेको होटलमा बेलुका खाना खान मेनु हेर्दा म अलमल र आश्चर्यमा परें । त्यहाँ सबै मासुका मात्रै परिकार थिए र सबै मासुका परिकार गाई र सुंगुरको मासुसँग सम्बन्धित थिए । मलाई के खाने भन्ने आइडिया नै भएन । सरासर कोठामा गएं, कोठामा ब्यवस्था भएको सामाग्री प्रयोग गरेर चिया बनाएं, झोलाबाट चाउचाउ झिकें र मरयांग मरयांग पारें । बिहानको नास्ता होटलमा बफेट थियो, सबै सामाग्री अगाडी नाम लेखिएको थियो । त्यसैले मलाई पाउरोटीका टुक्रा, गेडागुडी र फलफूल मात्र छान्न सजिलो भयो । दिउसो अफिसमा भात थियो, गाईको मासु, आलुको सुप र आलुको साग -सायद आलुको पातको साग मैले पहिलो पटक खाएको होला) । ३ दिन पछि भात खान पाउादा आनन्द आयो । मासु नखाएको देखेर अन्य सहकर्मी भने अचम्म परे । त्यसको भोलिपल्ट साझेदार संस्थाहरुको बैठकमा हामी काम गर्ने ठाँउमा के के खान पाइन्छ भन्ने चर्चा चल्यो । मान्सा जिल्लाबाट आएकी एलिजावेथले बडो गर्व साथ झुसिलकिरा पाइने बताइन् । केन्याबाट आएको मेरो साथी प्रेष्टनको अनुहार हेर्न लायक भयो, किनभने ऊ मान्सा जाादै थियो । पेटाउकेका रिचार्डले त्यहाँ पनि झुसिलकिरा पाइने बताएपछि मेरो दिगमिग सुरु भयो किनभने म पेटाउके जाँदै थिएं । पछि त हामीले लुसाकाको सडक किनार मै झुसिलकिरा बेच्न राखेको देख्यौ । पेटाउके आएपछि यहाँको हाटमा बोराका बोरा झुसिलकिरा र बजार नै डुङ्डुगती गनाउने सिद्रा माछा देखेर मलाई भाउन्न भयो । मेरो सहकर्मी जर्जले मलाई एकदिन भएभरीका किराको नाम लिएर सोध्यो, यो खान्छस्, त्यो खान्छस् भनेर । मैले अति भएपछि भनें, म अण्डा, माछा, खसी र कुखुराको मासु बाहेक केही खान्न । उसले अति आश्चर्यजनक ढंगले मलाई हेरयो र भन्यो, किन, आखिर मासु त आखिर सबै मासु नै हो नि होइन र ? यसबाट थाहा भयो, जाम्बियालीहरु सबै किरा र जनावरहरु खाँदा रहेछन् भन्ने । हे भगवान, मलाई चाही खानु नपरोस् ।

मेरालागि सामान खरिद गर्न रिचार्डले मलाई भारतीय ब्यापारी कहाा लिएर गयो । त्यसले स्याम्पू, तुथपेष्ट, तुथब्रस, साबुन, मसला लगायतका बिभिन्न सामानहरु मेरा अगाडी ल्याएर फिंजायो । मैले भनें यी सामान त सबै म संग छन् । उसले प्रश्न गर्यो, तिमीले आफ्नो झोलामा पूरै नेपाल नै ल्याएर आएका छौ कि क्या हो ? कोठामा आएपछि मैले सोचें, मसंग अहिले के भइदिइएको भए यो ठाँउ नेपाल जस्तै हुन्थ्यो होला ? मनमा असंख्य बिचारहरु तछांड मछांड गर्दै आए । धेरै याद आयो नेपालगञ्जको, सन्तोषदाईको पत्रिका पसल, मिराको चिया पसल, तन्दुरी होटल, हाम्रो समाचार, भेरी प्राविधिक शिक्षालय जाने बाटो, अक्ल्याण्ड साइबर अनि के के……… । म त्यहाँ बस्ने घरका साना साना नानीबाबुहरु श्रृष्टि र सिजन धेरै याद आए । नेपालगञ्जका साथीहरु राजन, ऋषि, झलक, रुपन, उमा यहां कोही थिएनन् । न त थिए मलाई किनमेल, प्याकिंगमा सहयोग गर्ने र बिमानस्थलमा बिदाई गर्न आउने साथी नै । केही छुटे जस्तो, केही बिर्सेजस्तो भै रहने ।

जाम्बियालीहरुको अंग्रेजी उच्चारण फरक छ, हामी एसियनहरुलाई उनीहरुको उच्चारणको लय पत्ता लगाउन समय लाग्छ । उनीहरु स्थानीय भाषा कै लयमा अंग्रेजी बोल्छन् र एकदमै छिटो बोल्छन् जुन म केही बुझ्दिन । यहाँ आएपछि म सहभागी भएका बैठकहरुमा गरिएका कुराकानीहरु अधिकांश मैले बुझेको छैन, पछि आफूलाई चाहिने सूचना भए छेउमा बसेको लाई सोध्छु, ओई, त्यसले के भनेको थ्यो भन् त भनेर । अहिले म भन्ने गरेको छु, मसँग बोल्दा बिस्तारै बोल, नभए म केही बुझ्दिन । मलाई बाहिरतिर अन्य मानिसहरुसँग बोल्दा भने अफ्ठ्यारो पर्ने गर्छ । यहाँका स्थानीयहरु मलाई भारतीय मूलको सम्झन्छन् र स्थानीय भाषामा कुरा गर्छन् । जताततै पाइने भारतीयहरु यहाँको भाषा फररर बोल्छन् । म भारतीय होइन भन्छु, अनि मात्रै अंग्रेजी बोल्छन् ।

म बस्ने घरको एक फ्ल्याटमा साना तीन बालबालिका र ती बच्चाको रेखदेख गर्ने एक आमै छिन् । बच्चाका बाबुआमा अन्तै कतै काम गर्छन् । साना बच्चा फाट्फुट्ट अंग्रेजी बोल्छन् तर आमै बोल्दिनन् । म अफिस जाँदा र फर्किदा एक दुई दिन तिनले मसँग स्थानीय भाषामा कुरा गरिन्, मैले केही चालचुल गरिंन । तेश्रो लिंगीले जस्तो थपडी पनि बजाउने हुनाले मलाई तिनको ब्यवहार निको लागेको थिएन । मलाई अफिस लिन आएको जर्जले एक दिन देख्यो र भन्यो, यी आमैले तिमीलाई अभिवादन गरेकी हुन् । मैले थपडी किन बजाएको त भनि सोधें, त्यो त जाम्बियामा आफू भन्दा ठूला लाई गरिने आदर पो रहेछ, हाम्रो नमस्ते जस्तै । फर्काउनु पनि त्यस्तै गरेर पर्दो रहेछ । आजभोलि त धेरै पटक थपडी बजाउनु पर्छ, नेपाल फकर्ेे पछि यो बानी छुटेन भने त्यहाँ मलाई तेश्रो भन्ने बेर छैन ।

नेपाल भन्दा फरक अनुभव भएको छ । साडे आठ बजे अफिस छ, आठ बिसमा त निस्कनै पर्छ, त्यस अघि नै १ बजेसम्मका लागि पुग्ने गरि खानु पर्छ । यहाँ फालाफाल आँप पाइन्छ, किन्नु पर्दैन । बिहान आँप, पाउरोटी र चिया खायो अनि अफिस टाप । नेपालमा आठ बजेसम्म सुतेको बानी । यहाँ त आफैं चिया, नास्ता, खाना पकाउनु पर्छ । भाँडा आफैं माझ्नु पर्छ । कपडामा इस्त्री आफैं लगाउनु पर्छ । कोठामा झाडु पोछा आफैं गर्नु पर्छ । सबै भन्दा मलाई समस्या पकाउनमा हुन्छ । पकाउन थाल्दा के पकाउंदैछु थाहा हँुदैन, पाकी सकेपछि थाहा हुन्छ, ए यो पो पाकेछ भनेर । तरकारीमा नून अड्कल्न १ महिना हुनलाग्दा पनि मैले जानिंन । सधैं मर्ने गरी चर्को । सबै कारोबार यहाँ बिजुलीबाट हुन्छ, ओभन, पि|mज, कुकर, पानी तताउने कित्ली सबै बिजुलीबाट चल्छन् । कहिलेकाँही आँधी आएर बिजुलीको पोल ढाल्छ र दिनभर या रातभर बिद्युत बिहीन हुन्छ, त्यसबेला नेपालबाट ल्याएको चिउरा, चाउचाउ जिन्दावाद । दिउसो लञ्च खाने एक होटल पत्ता लगाएको छु, त्यहँा कुखुराको मासु र सिमा (जाम्बियाली भोजन) पाइन्छ । त्यति महंगो पनि छैन, झण्डै नेपाली ४०० रुपैयामा काम तमाम हुन्छ, एकछाक लञ्चको । बेलुका चाँही प्राय मेरो कोठामा भात पाक्छ ।  

पेटाउकेमा वायरलेस इन्टरनेट छैन । त्यसैले मेरो ल्यापटपमा इन्टरनेट छैन । अफिसमा डायलअप छ तर त्यो चलेको थाहा छैन । म मोबाइलबाट फेसबुक र इमेल हेर्ने काम गर्छु । समग्रमा अहिले सम्मको भन्दा फरक किसिमले फरक दैनिकीमा र फरक माहौलमा अभ्यस्त हुन सिक्दैछु सायद समायोजन हुन समय नलाग्ला ।

परदेशबाट देश हेर्दा

नेपाल भन्दा फरक……….. म जोहानेन्सवर्ग बिमानस्थल ट्रान्जिटमा बिमान कुरीरंहदा देखि मेरो जस्तै वा मेरो भन्दा अलिक गोरो छाला भएको मानिस देख्न पाइंन । अग्ला, काला, ठूलो ओठ भएका पुरुषहरु, लट्टा पारिएको कपाल भएका महिलाहरु बिमानस्थल वरपर कलयांगमल्यांग गरिरहंदा म त अर्कै ग्रहमा पो आइपुगेंछु कि जस्तो लागि रह्यो । यस्ता मान्छेसंग कसरी बोल्ने होला, कसरी काम गर्ने होला भन्ने धक मनमा लागिरह्यो । लुसाकाको लागि बिमान चढेपछि परिचारिकाले नास्ता के खाने भनेर सोधिन् । मैले थाहा पाएं सबै गाइ र सुंगुरको मासुको परिकार मात्रै थिए । मैले माछा वा कुखुराको कुनै प्रकार खोजें, भाग्यवस साकाहारी स्याण्डवीच रहेछ । जाम्बियामा समेत साकाहारी मान्छे देखेर अचम्म मानिंदो रहेछ, धन्य, म साकाहारी थिइंन तर उनीहरुको पि्रय खाना गाइको मासु म हिन्दु भएकाले खान सक्दिनथें । जाम्बियालीहरुको पि्रय खाना सिमाको बारेमा मैले नेपालमै थाहा पाएको थिएं । मैले नेपालमा कल्पना गरे अनुसार यो केवल मकैको फाँडो थियो । तर, यहाँ आएपछि थाहा भयो मकैलाई मिलमा पिँधेर धुलो बनाई सिमा बनाईदो रहेछ, नेपालको हलुवा जस्तै । अलि बिकटतिर सखरखण्डको धुलो बनाएर पनि सिमा बनाइन्छ रे । नेपालमा प्रजातान्त्रिक अभ्यास गाउँ र घर घर सम्म पुग्नुको कारण त्यहाँको राजनैतिक बिभाजन पनि हो । सबै भन्दा तल्लो प्रजातान्त्रिक अभ्यास हुने निकाय भनेको गाबिस र वडा हो तर जाम्बियामा जिल्ला भन्दा तल कुनै निकाय नै हुंदो रहेनछ । कुनै कुनै जिल्लामा एक भन्दा बढि प्रहरी चौकी भए पनि स्वास्थ्य र सेवा प्रदायक निकायहरु जिल्ला सदरमुकाम मै केन्दि्रत रहंदा रहेछन् । साँच्चै भन्नु पर्दा एक जिल्लामा कति गाउँ छन् भन्ने तथ्यांक समेत जाम्बियामा उपलब्ध छैन । ९ प्रोभिन्स -नेपालमा अञ्चल जस्तै) र ७२ जिल्लामा बाँडिएको जाम्बियालीहरुको प्रमुख पेशा कृषि हो तर जमिन सरकारी अधिनस्थ छ । मलाई यहाँबाट पठाइएको निर्देशिकामा उल्लेख गरिएको चोरहरुबाट बच्ने तरीका पढेर मेरो सातो गएको थियो । अझै पनि मलाई कोठाबाट एक्लै अफिस आउन जान, बिहान र बेलुका एक्लै हिडडुल नगर्न भनिएको छ । तर, जाम्बियालीहरु सहयोगी भावनाका रहेछन्, नेपाली जस्तै । एकदमै औपचारीक, हरेक भेटघाटमा अभिवादन गर्ने, सञ्चो बिसन्चो सोध्ने । एकदमै सभ्य र नम्र भाषा प्रयोग गर्ने । म बिदेशी भएकाले म सँग मात्रै होइन जाम्बियालीहरु आपसमा भेट्दा पनि यसै गर्दा रहेछन् । सबै भन्दा राम्रो पक्ष, सडक यात्रुलाई सवारी साधनले प्राथमिकता दिने, अर्को सवारी साधनलाई प्राथमिकता दिने र सडक नियमहरुको सम्मान गर्ने जाम्बियाली बानी मलाई औधी मन पर्यो । यति मात्रै होइन, लुसाकामा एकपटक किनमेल गर्ने क्रममा मेरो साथीले बढि शुल्क तिरेर मात्र पार्किंग गर्ने स्थानमा अनुमति बेगर नै गाडी रोकेको निंहुमा त्यहाँको नगरपालिकाका कर्मचारीले गाडीको चक्का लक गरिदिए । पछि लामो सम्बाद र बिवाद पछि केही बढि जरीवाना तिरेर गाडी छुट्यो । यो देखेर नेपालको ट्राफिक नियम अझै बिचरा नै छ जस्तो महसुस भयो । जाम्बियामा दुई बर्गका मानिसहरु पाइए । एक बर्ग अति गरिब र अर्को बर्ग अति धनी । भौतिक सुबिधाहरु अति गरिबको पहँुच बाहिर छन् । यहाँ एक पुरुषले पाँच वटासम्म महिलालाई बिवाह गर्न पाउँछ । परिवार नियोजनबारे जाम्बियालीहरु त्यति जानकार छैनन् होला, किनभने शहरमा एक वा दुई बच्चामा सिमित रहने चलन फाट्ट फुट्ट सुरु भएपनि गाँउमा एक परिवारको बच्चा संख्या कम्तिमा ६ बाट सुरु भएर बढिमा जति पनि हुन सक्छ । महिलाहरुको जीवन बच्चा जन्माउन र स्याहार्न मै बित्ने र पुरुष मात्र आर्थिक उपार्जनमा सहभागी हुनाले गरिबी जस्ताको तस्तै रहेको होला सायद । राजधानी बाहिरका जिल्ला सदरमुकाममा हिडिरहेका दुई मध्ये एक महिलाको पिठ्यूंमा सानो बच्चा हुन्छ । १८ बर्ष नपुगी बिवाह गर्न नपाइने कानुनी मान्यता भएपनि न कतै उजुरी पर्छ न त कसैले कानुन कार्यान्वयन गर्छ । जाम्बियामा सबै भन्दा ठूलो समस्या भनेको बढ्दो एचआइभी संक्रमितहरुको जनसंख्या हो । २० देखि २९ बर्ष उमेर समुहका जाम्बियालीहरुमाझ तिब्र रुपमा फैलिरहेको यहाँ एचआइभी भएर बाँचिरहेकाहरुको जनसंख्या २० प्रतिशत भन्दा बढि छ । ५ मान्छेमा एक मान्छे संक्रमित । यसलाई कम गर्न सरकारी र गैह्र सरकारी पहलहरु भने देखिन्छन् । हामी धेरै धनी नेपालीहरु प्रत्येकसँग बस्नका लागि कतै न कतै घर छ, गाउँमा सानो जमिनको भए पनि टुक्रो छ । नेपालमा खान नपाएर वा केही काम नपाएर भोकै मरिहालेको कोही छैन । यस मानेमा हामी धेरै धनी छौं । यसबाहेक नेपाल जस्तो सानो र बिकासशील मुलुकमा स्वास्थ्य र शिक्षामा मानिसहरुको सहज पहँुचले हाम्रो स्तर राम्रो छ भन्ने देखाउँछ । नेपालमा सञ्चार क्षेत्रले मारेको फड्को त इश्र्यालाग्दो नै छ । यहाँ मोवाइलबाट अन्तराष्ट्रिय कल गर्दा नेपाली सय रुपैंया बढि लाग्छ एक मिनेटको । राजधानी बाहेक कतै वायरलेस इन्टरनेट सुबिधा छैन । डायलअप इन्टरनेटमा १०० केबी क्षमताको कुनै फाइल अपलोड गर्नु पर्यो भने दुई घन्टा भन्दा बढि समय लाग्छ । सरकारी टेलिकमले एडिएसएल इन्टरनेट राजधानी बाहेक अन्त बिस्तार गर्न सकेको छैन । भारतीय मोवाइल कम्पनीहरु मध्ये एयरटेलको मोवाइल सेवामा एकलौटी बजार छ भन्दा पनि हुन्छ । देशमा कतै पनि टेलिभिजन केवुल नेटवर्क छैन । सबै सञ्चार माध्यमहरु सरकार नियन्त्रित छन् । राजधानी केन्दि्रत एक -वा दुई हो यकीन भएन तर तीन पक्कै होइन) नीजि छापा र बिद्युतीय सञ्चार माध्यम पनि छन् तर सञ्चारमा सेन्सरसीप छ । सामुदायिक रेडियो एफएम बाहेक जिल्लामा नीजि सञ्चार माध्यममा काम गर्ने पत्रकार छैनन् । कुनै सुचना दिनु पर्यो भने सरकारी सूचना बिभागमा दिनु पर्छ यसले नै सञ्चार माध्यमहरुमा सूचना प्रवाह गरिदिन्छ । पत्रिका सर्बसाधारणको पहँुच बाहिर छन् । जाम्बियन डेली मेल नामक पत्रिका किन्नु पर्यो भने ३००० क्वाचा पर्छ जुन नेपाली ४५ रुपैया भन्दा बढि हो, नेपालमा ५ रुपैंयामा १६ पेज बढिको पत्रिका किन्न पाइन्छ । सदरमुकामबाट राजधानी जोड्जे सडक बाहेक अन्यत्र कालोपत्रे गरिएको सडक छैन । न त यातायातका कुनै साधन नै उपलब्ध छन् । गाउँका सक्ने मानिसहरुले साइकल प्रयोग गर्छन् नसक्ने पैदल नै हिड्ने गर्छन् । समग्रमा नेपाल भन्दा गरीब मुलुक पनि रहेछन् यो सन्सारमा । जाम्बियामा सुन र तामा खानीहरु छन् । गोराहरुले चुसेर छोडेको जाम्बियामा अहिले बिभिन्न देशहरुको स्वार्थ लुकेको छ । जाम्बियाको बजार भारत र चीनको हातमा छ । गाउँ गाउँमा भारतीयहरु पुगेका छन् । राजधानीमा ठूला ब्यापारीक प्रतिष्ठानहरुमा भारतीय बर्चश्व छ । एयरटेल, जेन, श्री इन्भेष्टमेन्ट जस्ता कम्पनीहरु र बहुराष्ट्रिय कम्पनीहरु छ्यापछ्याप्ती छन् । प्रत्येक जाम्बियालीले कोकाकोला पिउन सिकेको छ । राजधानीका ठूला डिपार्टमेन्टल स्टोरहरु, ब्यापारिक पसलहरु भारतीय कै छन् । यति मात्रै होइन जिल्ला जिल्लाका सदरमुकामहरुमा पनि भारतीय पसलहरुकै बर्चश्व छ । मुस्लिम र हिन्दु धर्म भारत हँुदै जाम्बिया प्रवेश गरेको छ, मस्जिद, मन्दिर बनेका छन् र आधा बढि जनसंख्या क्रिश्चियन रहेको जाम्बियामा फरक धर्म बिस्तारै बिस्तार हँुदैछ । चाइनिज सामानहरु छ्यापछ्याप्ती पाइन्छन् । नेपाली बजारको तुलनामा जाम्बिया धेरै महंगो छ । यहाँ सस्तो भनेको यहाँकै उत्पादन हुन् जस्तै अहिले बषर्ातको मौसम छ, जताततै आँप लटरम्म फलेका छन् । न त त्यो कसैले टिप्छ, न त कसैले बेच्छ, पाकेर भूईभरी आँपै आँप, तर कसैलाई मतलव छैन । नेपालमा यस्तो भए आँपले बजार पाएन भनेर कम्तिमा रेडियो र अखबारमा समाचार त आँउथ्यो, यहाँ त सरकारी क्रियाकलाप र घटना बाहेक केही समाचार नै हँुदैनन् ।

सडकमा पोखिएका सपनाहरू

Bhumi Bhandari

देशभरिका सडकहरु राताम्य छन् । माओवादी समर्थित बिद्यार्थी, कार्यकर्ता, सर्बसाधारणहरु पाएसम्म राता टि सर्ट र नपाए, जे छ त्यही लगाएर सडकमा आएका छन् । उनीहरु आफूलाई सर्बहारा भन्छन् र मुक्तिको आशामा सडकमा आएका हुन् । गाउँ-गाउँबाट शहर ओइरिएका जनताको पक्कै केही सपना त होलान् । सपना पाल्दै र पूरा नभएपछि निरास हुँदै नेपालीहरुको पुस्तान्तर हुने गर्दछ । तर, अहिले जनता सडकमा आउनुमा सपनाले मात्रै उत्प्ररित गरिरहेको छैन-केहीलाई डर, केहीलाई जिज्ञासा, केहीलाई रहरले सडकसम्म तानिरहेको छ ।

नेपालगन्जमा अहिले बिविध अवस्थाको सामनामा जनता छन् । राति होटलमा, स्कूलमा र सार्वजनिक स्थानमा सुतेर झिसमिसेमै आन्दोलन गर्न आउने एक थरि जनता छन् । अर्काथरि जनता ब्यवसाय बन्द भएकाले फुर्सद भएर दिनभरि टिभी हेर्छन् र राजनीतिक बहस गरेर तथा आम हडताल हेरेर मनोरञ्जन लिईरहेका छन् । अर्का थरि जनता काम गर्न नपाएकोमा, आर्थिक आयको माध्यम रोकिएकोमा चिन्तित् छन् र आम हडताल कहिले बन्द हुन्छ भन्ने प्रश्न बोकेर यता उता भौंतारिइरहेका छन् । कोही कोहीलाई आम हडतालले कुनै असर नै पारिरहेको छैन । उनीहरुको जनजीवन जस्ताको तस्तै छ । जनता जो आन्दोलन गर्न र आम हड्ताल सफल पार्न गाउँ-गाउँबाट आएका छन्, यो आम हड्तालको सफलता असफलता उनीहरुकै हातमा छ । शहरियाहरु त आन्दोलनमा आएकै छैनन् भन्दा पनि हुन्छ ।

नेपाली जनताका सपनाहरु पटक-पटक बिभिन्न बहानामा सडकमा पोखिएका छन् । क्रान्तिका कुरा गर्दा नेपालीहरु रमाइलो मान्छन् । अझ २०४६ सालको परिवर्तनबाट प्राप्त वाक् तथा अभिब्यक्ति स्वतन्त्रताले त झन नेपालीहरुलाई राजनीतिसँग नछुट्टनिे सम्बन्ध स्थापना जोडिदिएको छ । हरेक ब्यक्ति कुनै न कुनै पार्टीर्सँग आवद्ध छ, पार्टीसँग केही अपेक्षा राख्छ । तर, अन्तिममा केही पूरा नभएपछि फेरि सडकमा आउँछ र उग्र नारा लगाउँछ । राजनैतिक परिवर्तनले देशमा अमन चयन आउँछ, आर्थिक सम्बृद्धि छाउँछ र जीवन परिवर्तन हुन्छ भन्नु नेपालीहरुका लागि दिवास्वप्न झैं भएको छ ।

नेपाली जनताको नाम बेचेर नेताहरु रातारात मालामाल भए । जनभावनासँग खेलवाड गरेर नेताहरुले स्वार्थ पूर्ति गरे । जनता भने नेताहरुप्रति सधैं इमान्दार र नतमस्तक रहने गर्दछन् । किन यस्तो हुन्छ हाम्रो नेपालमा ? कारण एउटै छ-नेपाली जनताका आशा र भरोसाका केन्द्र राजनैतिक पार्टीका नेताबाहेक अरु कोही छैनन् । त्यसैले त जनता कहिले यो पार्टी त कहिले त्यो पार्टीमा भोट हालेर नेता र पार्टीको टेष्ट गरिरहन्छन् । फेरि प्रजातान्त्रिक पद्दतिमा जनताले भोट दिन पाउँछ तर भोट दिएर छानिएको ब्यक्ति गलत पर्‍यो भने फिर्ता बोलाउने अधिकार जनतासँग छैन । नेपालमा अहिले संबिधान बन्ने-नबन्ने निश्चित छैन । नेपाली जनताले पठाएका ६ सय १ सभासद् मन्त्री बन्न पाउने वा यस्तै लाभको पद पाउने चक्करमा भड्किएका छन् । उनीहरुको प्राथमिकतामा संविधान छैन, अनि जनतालाई सभासद् फिर्ता बोलाउने समेत अधिकार छैन । त्यसैले उनीहरु आफूलाई दाम्लो फुकालेको साँढे सम्झेर जनताका भावना कुल्चदैछन् ।

माओवादीको आन्दोलन सफल भएर प्रचण्ड -वा अन्य कोही) प्रधानमन्त्री भए जनतालाई के फरक पर्छ ? केही हारेका वा जितेका नेताहरु मन्त्री हुन्छन् । केही कार्यकर्ताले राजनैतिक नियुक्ति पाउँछन् । सत्तामा पार्टी गएपछि ब्यापारीले पार्टी चलाउन अलिक बढि आर्थिक सहयोग गर्दछन् । नेताहरुले संविधान बनाउने पुनः प्रतिवद्धता ब्यक्त गर्दछन् । तर, घरमा खान नभएको गरिब र सर्वहारालाई केही फरक पर्दैन । ऊ यो सरकार हुँदा जस्तो अवस्थामा थियो, अर्को सरकार आउँदा पनि त्यस्तै अवस्थामा रहिरहनेछ । अर्को बर्ष अर्को पार्टीले सडकमा आन्दोलन गर्नेछ र त्यो बबुरो जनता फेरि आन्दोलन गर्न सहर पस्नेछ ।

देशमा बारम्बार भईरहने राजनैतिक परिवर्तनले केही हुनेवाला छैन । बेरोजगारीका कारण नेपालबाट अहिले दैनिक सयौं युवा बिदेसिदैं छन् । यो क्रम अझै ५ बर्ष जारी रह्यो भने नेपालमा सैनिक कू भएमा वा बिदेशी शक्तिले हस्तक्षेप गरेमा सडकमा आउने युवा कोही बाँकी रहने छैन । नेपालमै बस्ने सम्भ्रान्तहरुलाई राजनीतिमा चासो हुदैंन र उनीहरु कहिल्यै सडकमा आउँदैनन् । गरिब जनता परिवर्तनको आशमा कुनै पार्टीको पछि लागेर सडकमा आउने हुन् । आर्थिक पक्षमा सवलीकरण गर्न सरकारले नै केहि गर्नु पर्दछ । नभए त्यस्ता जनताको आर्थिक पाटोलाई कहिल्यै सम्बोधन नगरेर खाली कहिले प्रजातान्त्रिक त कहिले प्रगतिशील पार्टीका झण्डामुनि तान्ने र जातीय, क्षेत्रीय रंग दिएर एक आपसमा बेमेल गराई फूटको राजनीति गर्न पल्केका नेताहरुको कर्तूत कहिल्यै पटाक्षेप हुनेछैन ।

प्रधानमन्त्री हुँदा प्रचण्डले आफूलाई निक्कै ठूलो मान्छे सम्झेर ँमेरो राजीनामा कसरी स्वीकृत हुँदो रहेछ हेरौं त’ को शैलीमा प्रस्तुत भए । बिजयी माओवादीले सत्ता छोड्ने निर्णय गरेपछि हरुवाहरुलाई त मालामाल नै हुने भै गयो । सामान्य संसदीय प्रकृया पूरा गरेर पाएको सत्ता अब माओवादीलाई किन दिने ? माओवादीले सत्ता माग्नुको कुनै तुक सत्तामा बस्नेले नदेखेपछि आन्दोलन त लम्बिने नै भयो । अनि जनताले सास्ती पाउने नै भए । तर, जनताको इच्छा माधव नेपाललाई कुर्सीबाट हटाएर प्रचण्डलाई उक्त कुर्सीमा राख्नु कदापि होइन । कोही छिमेकी अनाहकमा नमारियोस् भन्ने जनता चाहन्छन् । कोही नलुटियोस्, जबरजस्ती चन्दा दिनु नपरोस्, कोही अकारण बेपत्ता नहोस् भन्ने जनचाहना हो । जनतालाई मूर्ख बनाएर यी नेता चाँही के चाहन्छन् ?