जाम्बिया आउने भनेपछि मेरो धेरै समय यो देशको बारेमा इन्टरनेटबाट अध्ययन गर्न मै बित्यो । जाम्बिया आइप्गेपछि पहिलो दिन गएर बसेको होटलमा बेलुका खाना खान मेनु हेर्दा म अलमल र आश्चर्यमा परें । त्यहाँ सबै मासुका मात्रै परिकार थिए र सबै मासुका परिकार गाई र सुंगुरको मासुसँग सम्बन्धित थिए । मलाई के खाने भन्ने आइडिया नै भएन । सरासर कोठामा गएं, कोठामा ब्यवस्था भएको सामाग्री प्रयोग गरेर चिया बनाएं, झोलाबाट चाउचाउ झिकें र मरयांग मरयांग पारें । बिहानको नास्ता होटलमा बफेट थियो, सबै सामाग्री अगाडी नाम लेखिएको थियो । त्यसैले मलाई पाउरोटीका टुक्रा, गेडागुडी र फलफूल मात्र छान्न सजिलो भयो । दिउसो अफिसमा भात थियो, गाईको मासु, आलुको सुप र आलुको साग -सायद आलुको पातको साग मैले पहिलो पटक खाएको होला) । ३ दिन पछि भात खान पाउादा आनन्द आयो । मासु नखाएको देखेर अन्य सहकर्मी भने अचम्म परे । त्यसको भोलिपल्ट साझेदार संस्थाहरुको बैठकमा हामी काम गर्ने ठाँउमा के के खान पाइन्छ भन्ने चर्चा चल्यो । मान्सा जिल्लाबाट आएकी एलिजावेथले बडो गर्व साथ झुसिलकिरा पाइने बताइन् । केन्याबाट आएको मेरो साथी प्रेष्टनको अनुहार हेर्न लायक भयो, किनभने ऊ मान्सा जाादै थियो । पेटाउकेका रिचार्डले त्यहाँ पनि झुसिलकिरा पाइने बताएपछि मेरो दिगमिग सुरु भयो किनभने म पेटाउके जाँदै थिएं । पछि त हामीले लुसाकाको सडक किनार मै झुसिलकिरा बेच्न राखेको देख्यौ । पेटाउके आएपछि यहाँको हाटमा बोराका बोरा झुसिलकिरा र बजार नै डुङ्डुगती गनाउने सिद्रा माछा देखेर मलाई भाउन्न भयो । मेरो सहकर्मी जर्जले मलाई एकदिन भएभरीका किराको नाम लिएर सोध्यो, यो खान्छस्, त्यो खान्छस् भनेर । मैले अति भएपछि भनें, म अण्डा, माछा, खसी र कुखुराको मासु बाहेक केही खान्न । उसले अति आश्चर्यजनक ढंगले मलाई हेरयो र भन्यो, किन, आखिर मासु त आखिर सबै मासु नै हो नि होइन र ? यसबाट थाहा भयो, जाम्बियालीहरु सबै किरा र जनावरहरु खाँदा रहेछन् भन्ने । हे भगवान, मलाई चाही खानु नपरोस् ।
मेरालागि सामान खरिद गर्न रिचार्डले मलाई भारतीय ब्यापारी कहाा लिएर गयो । त्यसले स्याम्पू, तुथपेष्ट, तुथब्रस, साबुन, मसला लगायतका बिभिन्न सामानहरु मेरा अगाडी ल्याएर फिंजायो । मैले भनें यी सामान त सबै म संग छन् । उसले प्रश्न गर्यो, तिमीले आफ्नो झोलामा पूरै नेपाल नै ल्याएर आएका छौ कि क्या हो ? कोठामा आएपछि मैले सोचें, मसंग अहिले के भइदिइएको भए यो ठाँउ नेपाल जस्तै हुन्थ्यो होला ? मनमा असंख्य बिचारहरु तछांड मछांड गर्दै आए । धेरै याद आयो नेपालगञ्जको, सन्तोषदाईको पत्रिका पसल, मिराको चिया पसल, तन्दुरी होटल, हाम्रो समाचार, भेरी प्राविधिक शिक्षालय जाने बाटो, अक्ल्याण्ड साइबर अनि के के……… । म त्यहाँ बस्ने घरका साना साना नानीबाबुहरु श्रृष्टि र सिजन धेरै याद आए । नेपालगञ्जका साथीहरु राजन, ऋषि, झलक, रुपन, उमा यहां कोही थिएनन् । न त थिए मलाई किनमेल, प्याकिंगमा सहयोग गर्ने र बिमानस्थलमा बिदाई गर्न आउने साथी नै । केही छुटे जस्तो, केही बिर्सेजस्तो भै रहने ।
जाम्बियालीहरुको अंग्रेजी उच्चारण फरक छ, हामी एसियनहरुलाई उनीहरुको उच्चारणको लय पत्ता लगाउन समय लाग्छ । उनीहरु स्थानीय भाषा कै लयमा अंग्रेजी बोल्छन् र एकदमै छिटो बोल्छन् जुन म केही बुझ्दिन । यहाँ आएपछि म सहभागी भएका बैठकहरुमा गरिएका कुराकानीहरु अधिकांश मैले बुझेको छैन, पछि आफूलाई चाहिने सूचना भए छेउमा बसेको लाई सोध्छु, ओई, त्यसले के भनेको थ्यो भन् त भनेर । अहिले म भन्ने गरेको छु, मसँग बोल्दा बिस्तारै बोल, नभए म केही बुझ्दिन । मलाई बाहिरतिर अन्य मानिसहरुसँग बोल्दा भने अफ्ठ्यारो पर्ने गर्छ । यहाँका स्थानीयहरु मलाई भारतीय मूलको सम्झन्छन् र स्थानीय भाषामा कुरा गर्छन् । जताततै पाइने भारतीयहरु यहाँको भाषा फररर बोल्छन् । म भारतीय होइन भन्छु, अनि मात्रै अंग्रेजी बोल्छन् ।
म बस्ने घरको एक फ्ल्याटमा साना तीन बालबालिका र ती बच्चाको रेखदेख गर्ने एक आमै छिन् । बच्चाका बाबुआमा अन्तै कतै काम गर्छन् । साना बच्चा फाट्फुट्ट अंग्रेजी बोल्छन् तर आमै बोल्दिनन् । म अफिस जाँदा र फर्किदा एक दुई दिन तिनले मसँग स्थानीय भाषामा कुरा गरिन्, मैले केही चालचुल गरिंन । तेश्रो लिंगीले जस्तो थपडी पनि बजाउने हुनाले मलाई तिनको ब्यवहार निको लागेको थिएन । मलाई अफिस लिन आएको जर्जले एक दिन देख्यो र भन्यो, यी आमैले तिमीलाई अभिवादन गरेकी हुन् । मैले थपडी किन बजाएको त भनि सोधें, त्यो त जाम्बियामा आफू भन्दा ठूला लाई गरिने आदर पो रहेछ, हाम्रो नमस्ते जस्तै । फर्काउनु पनि त्यस्तै गरेर पर्दो रहेछ । आजभोलि त धेरै पटक थपडी बजाउनु पर्छ, नेपाल फकर्ेे पछि यो बानी छुटेन भने त्यहाँ मलाई तेश्रो भन्ने बेर छैन ।
नेपाल भन्दा फरक अनुभव भएको छ । साडे आठ बजे अफिस छ, आठ बिसमा त निस्कनै पर्छ, त्यस अघि नै १ बजेसम्मका लागि पुग्ने गरि खानु पर्छ । यहाँ फालाफाल आँप पाइन्छ, किन्नु पर्दैन । बिहान आँप, पाउरोटी र चिया खायो अनि अफिस टाप । नेपालमा आठ बजेसम्म सुतेको बानी । यहाँ त आफैं चिया, नास्ता, खाना पकाउनु पर्छ । भाँडा आफैं माझ्नु पर्छ । कपडामा इस्त्री आफैं लगाउनु पर्छ । कोठामा झाडु पोछा आफैं गर्नु पर्छ । सबै भन्दा मलाई समस्या पकाउनमा हुन्छ । पकाउन थाल्दा के पकाउंदैछु थाहा हँुदैन, पाकी सकेपछि थाहा हुन्छ, ए यो पो पाकेछ भनेर । तरकारीमा नून अड्कल्न १ महिना हुनलाग्दा पनि मैले जानिंन । सधैं मर्ने गरी चर्को । सबै कारोबार यहाँ बिजुलीबाट हुन्छ, ओभन, पि|mज, कुकर, पानी तताउने कित्ली सबै बिजुलीबाट चल्छन् । कहिलेकाँही आँधी आएर बिजुलीको पोल ढाल्छ र दिनभर या रातभर बिद्युत बिहीन हुन्छ, त्यसबेला नेपालबाट ल्याएको चिउरा, चाउचाउ जिन्दावाद । दिउसो लञ्च खाने एक होटल पत्ता लगाएको छु, त्यहँा कुखुराको मासु र सिमा (जाम्बियाली भोजन) पाइन्छ । त्यति महंगो पनि छैन, झण्डै नेपाली ४०० रुपैयामा काम तमाम हुन्छ, एकछाक लञ्चको । बेलुका चाँही प्राय मेरो कोठामा भात पाक्छ ।
पेटाउकेमा वायरलेस इन्टरनेट छैन । त्यसैले मेरो ल्यापटपमा इन्टरनेट छैन । अफिसमा डायलअप छ तर त्यो चलेको थाहा छैन । म मोबाइलबाट फेसबुक र इमेल हेर्ने काम गर्छु । समग्रमा अहिले सम्मको भन्दा फरक किसिमले फरक दैनिकीमा र फरक माहौलमा अभ्यस्त हुन सिक्दैछु सायद समायोजन हुन समय नलाग्ला ।

