जाम्बिया बसाईको मेरो सबै भन्दा अबिस्मरणीय क्षण मध्ये भिक्टोरीया फल्स घुमाई पनि एक रह्यो । बिश्व सम्पदा सुचिमा सन् १९८९ मा यो फल्स सुचिकृत भएको हो । जाम्बिया भएर बग्ने जाम्बेजी नदीबाट बनेको भिक्टोरीया फल्स जाम्बिया देखि जिम्बावेसम्म फैलिएको छ । बिश्वका सात प्राकृतिक आश्चर्य मध्येको एक यो फल्स जाम्बियाको दक्षिणी प्रान्तको सदरमुकाम लिभिङस्टोन देखि जिम्बावेको सिमाना ह्वांवे जिल्लासम्म फैलिएको छ । बिश्वको सबै भन्दा लामो झरनाको रुपमा रहेको भिक्टोरीया फल्स १ हजार ८ सय ८ मिटरसम्म फैलिएको छ ।
भिक्टोरीया फल्स मोसी-ओया-टुन्या राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । मोसी-ओया-टुन्या भनेको स्थानीय टोङ्गा भाषामा धुंवाहरुको मुस्लो हो । एक सेकेण्डमा करोडौं लिटर पानी १ सय ३ मिटरको उचाईबाट तल र्झछ । यसरी झरेको पानी एक अर्कामा ठोक्किएर बाछिटा भै धेरै परपरसम्म पुग्छ । यो बाछिटा ४ सय मिटर उचाईसम्म जान्छ । यसरी गएको बाछिटा धुंवाको मुस्लो झैं देखिन्छ । आकाशमा बादल लागेजस्तो यो दृश्य फल्स देखि ३० किलोमिटर टाढाबाट समेत देख्न सकिन्छ ।
भिक्टोरीया फल्स प्रवेशद्धार नजिकै डाक्टर डेभिड लिभिङ्स्टोनको प्रतिमा छ । यो फल्स उनैले पत्ता लगाएका हुन् । सन् १८५८ देखि ६४ सम्मको उनको Africa अन्वेषणका क्रममा सन् १८५५ मा यो फल्स पत्ता लागेको हो । पछि बि्रटेनकी तत्कालिन महारानीको नाममा यसको नाम रहन गएको हो ।
भिक्टोरीया फल्स घुम्न जांदा रेनकोट लगाएर जानु पर्छ होइनभने, फल्सको बाछिटाले निथ्रुक्कै बनाउंछ । पार्क भित्र एकातर्फबाट फल्स हेर्ने बाटो बनाइएको छ भने अर्को तर्फ जाम्बिया-जिम्बावे मैत्री पुल, जाम्बेजी नदी र अन्य प्राकृतिक दृश्य हेर्ने गोरेटो छ । नदिबाट पानी तल खस्दा आएको आवाज, त्यसबाट बाफ झैं निस्कने बाछिटा र त्यसमा सधैं बनिरहने इन्द्रधनुष साच्चै मनमोहक देखिन्छन् । यहां आएपछि मैले मनमनै यौटा निर्णय गरें, म फेरी जीवनमा अर्को पटक यो फल्स घुम्न आउनेछु ।
Please click on this link for more photos:
