बिश्वका सात प्राकृतिक आश्चर्य मध्येको एक भिक्टोरिया फल्स हेर्न म जुलाईको तेश्रो साता लिभिङस्टोन पुगेको थिएं । त्यहां मैले अर्को आठौं आश्चर्य पनि देख्न पाएं । त्यो आठौं आश्चर्य थियो, जिम्बावेको नोट । नेपालमा हुदां देखेको सबै भन्दा ठूलो नोट हजारको थियो, जाम्बिया आएपछि पांच, दश, बीस र पचास हजारसम्मका नोट देखें । तर लिभिङस्टोनमा देखिएका जिम्बावे डलर कतिका हुन् मैले हिसाब गर्न सकिंन ।
एक, दश, सय, हजार, दश हजार, लाख भनेर गन्दै जांदा अरब, खरब, दश खरब पछि के आउंछ ? खै के आउंछ, के आउंछ । मलाई यत्रो हिसाब कहिल्यै गर्नु परेको थिएन, अनि कसरी थाहा हुन्छ । भिक्टोरिया फल्सको बाहिरका क्यूरियो पसलमा यस्ता नोट बेच्न राखिएका थिए । मैले नोट उठाएं र गन्न थालें, सय खरब जिम्बावे डलरको नोट सबभन्दा ठूलो नोट रहेछ ।
यस्तो अचम्मको नोट त किन्नु पर्छ भनेर यस्को दाम सोधें । पसले यौटाको दश डलर भन्दै थियो । मैले भनें-’तिम्रो यो नचल्ने नोट त कागज बराबर त हो नि, के को दश डलर ?’ बारगेनिङ गर्दा गर्दा मैले ५ बटा नोटहरु बीसहजार क्वाचा (तीन सय बीस नेपाली रुपैया) मा फुत्काएं । नोट किनेपछि धेरै बेर, धेरै पटक र धेरै दिन ती नोटहरुलाई हेरेर सोचिरहेको छु, यी रोवर्ट मुगावे भन्ने मान्छेले यस्ता खरबौंका नोट निकालेर गर्न चांही के खोजेका होलान् ।
जिम्बावेमा रोर्वट मुगावे र चांगाराई भन्ने दुई ब्यक्ति राजनैतिक रुपमा शक्तिशाली छन् । गएको चुनावमा मुगावेको पार्टी अगाडी आयो, उनी राष्ट्रपति भए । चांगाराईको पराजय भयो । पराजय पछि मुगावेसंग कसरी बदला लिने भनेर चांगाराईले योजना बनाउदै गर्दा, मुगावेले सबै गोराहरुको सम्पति कब्जा गरेर भूमिहीनहरुलाई बितरण गर्ने क्रान्तिकारी योजना ल्याए । बि्रटिस साम्राज्यको अधिनमा हुंदा रोडेशिया नामले चिनिएको जिम्बावे स्वतन्त्र भएपछि पनि केही गोराहरु त्यही देशमा बसे, उनीहरुका नाममा धेरै जमिन र सम्पति पनि थियो । सरकारसंग गरिबहरुका लागि दिन केही थिएन, तसर्थ सस्तो लोकपि्रयताका लागि सरकारले गोराहरुको सम्पति ताक्यो । यता चांगाराईलाई भने सरकारको बिरोध गर्ने राम्रो मसला मिल्यो ।
गोराहरु त शक्तिशाली थिए नै, अन्तराष्ट्रिय समुदायले समेत मुगावेले एकतन्त्रीय शासन लागू
गर्न खोजेको भन्दै नाकाबन्दी गरे । मुगावे पनि के कम, समाधान ठूला ठूला नोट छापेर गर्न खोजे । नोट छापेर के को समाधान हुन्थ्यो । देशमा मुद्राSfiती बढ्यो । यौटा पाउरोटी किन्न पनि १ करोड डलर बोक्नु पर्ने भयो । त्यतिमात्र होइन देशको कूल ग्राहास्थ उत्पादन सन् २००७ र २००८ मा ऋणात्मक भयो । सहमतिमा नआउने चांगाराई र झुक्न नजान्ने मुगावेले देशलाई यस्तो स्थितिमा पुर्याएपछि सन् २००९ को सुरुमा दुबैको होस खुल्यो । मुगावे चांगाराईलाई प्रधानमन्त्री बनाउन तयार भए । त्यसपछि सोही बर्षको जनवरी देखि जिम्बावेमा दक्षिण African राण्ड र अमेरीकी डलर चल्तीमा आयो । यी खरबौं डलरका नोट सोही बर्षको अपि्रल देखि चल्न छाडे ।
अहिले भने यी नोट हामी जस्ता पर्यटकका लागि रमाइलो बनेका छन् । सन्सारका कुदै पनि देशले जिम्बावेको यो जस्तो दुर्दशा भोग्नु नपरोस् ।

