एमाले कस्को पार्टी ?

नेपाल प्रेस इन्ष्टीच्युट भन्ने संस्थाले चलाएको नेपालगञ्जको भेरी एफ एमको रेडियो स्टेसनमा २०६७ को जेठतिर स्टेसन म्यानेजरको रुपमा काम गर्ने अफर आएको थियो । २० दिन जति काम गरें पनि । एक दिन बिहानै त्यो रेडियो चलाउने संस्थाका संयोजक निरज पोखरेल मेरो बसोबास क्षेत्रतिर मलाई खोज्दै आए । भेट्ने बित्तिकै उनले रुञ्चे अनुहार बनाउंदै भोलि देखि रेडियो स्टेसनमा नआउन मलाई अनुनय गरे । कारण मेरो उपस्थितिले उनको जागिर धरापमा पर्यो रे । म त्यहां कसैलाई अफ्ठ्यारोमा पार्न गएको थिइंन, त्यसैले अर्को दिन देखि जान छोडिदिएं ।

पछि कारण थाहा भयो, त्यो रेडियो स्टेसन कांग्रेसीहरुको पो रहेछ । म एमाले परेछुं । कांग्रेसीहरुको दुहुनु गाई जस्तो रेडियो स्टेसनमा गएर मैले उनीहरुको दैनिकीमा बाधा पो पुर्‍याउने हो कि भन्ने डर कांग्रेसी पत्रकारहरुलाई भएछ । ‘एमालेको भर्तिकेन्द्र बनाउने ?’ भन्दै ती संयोजकलाई त्यसका कांग्रेसी सञ्चालक पत्रकारहरुले र्‍याखर्‍याख्ती पारेछन् । आफ्नै जागिर पो जाने हो कि भनेर डरले तिनले मलाई नआउन अनुनय गरेका रहेछन् । मेरो जीवनमा ‘तं एमाले होस्’ भनेर पहिलो पटक ठप्पा लागेको यो नै पहिलो घटना थियो । पछि प्रेस चौतारी भन्ने एमाले निकट पत्रकारहरुको संस्थाले आन्दोलन गर्नु पर्‍यो भनेर भनेको थियो । मलाई राजनीति गर्नु थिएन, न त फेरी फर्केर त्यस रेडियो स्टेसनमै जानु थियो । त्यसैले त्यो बाटो रोजिंन । एक रात प्रेस चौतारीका नेता (उपाध्यक्ष हुन् क्यारे) शीव डोटेलले १० बजे तिर ‘तंलाई निकाल्ने रेडियो स्टेसनको अगाडी मैले मुतेर आएं’ भन्दै मलाई फोन गरेका थिए ।

हो, म एमाले थिएं । म झापामा जन्मे हुर्केको हुं । म किशोरावस्थामा प्रवेश गर्नैलाग्दा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भयो । झापामा त्यसबेला गरिबहरु बामपन्थि, धनीहरु अन्य पार्टी भन्ने मान्यता थियो । मेरो परिवार गरिब भएकाले म स्वत बामपन्थि भएं । त्यसताका मालेबाट एमाले भएको पार्टीमा मेरा परिवारका अग्रज सदस्यहरुको आस्था थियो । हाम्रो नेपाली संस्कारमा बाबु जुन पार्टीमा लाग्यो छोरो पनि त्यही पार्टीको हुने प्रचलन छ । म एमालेको निष्ठा, आर्दश वा उसले समातेको बाटो मन पराएर एमाले भएको थिइंन । म स्वतः एमाले भएको थिएं । पहिलो आम निर्वाचनताका म सिपी मैनालीको भाषण सुन्न अरुका पछि लागेर पैदल धेरै टाढासम्म पुगेको सम्भिmन्छु । मन पराएको पार्टीसंग नजिक हुन खोज्नु स्वभाविक हो, नेपालगञ्ज आएपछि यो क्रमले निरन्तरता पायो । मैले एमाले भएर सक्रिय राजनीति कहिल्यै गरिंन, एमाले भएर कुनै पद प्राप्त गरिंन, फाइदा प्राप्त गर्न पार्टीको नाम भजाउने मेरो दिमागमा कहिल्यै आएन । देशका अन्य लाखौं समर्थक जस्तै संगठित सदस्य भने भै रहें ।

कहिलेकांही नचाहेरै दुईमा एक रोज्नु पर्दो रहेछ । ब्यवसायिक स्वतन्त्रता र पार्टीको आस्था रोज्नु पर्यो भने के रोज्ने ? म निश्चय नै स्वतन्त्रता रोज्छु । छिमेकी दुस्मनको घरमा बाघ पस्यो भनेर खुच्चिङ गर्नु पूर्व त्यो बाघ अब मेरो घरमा पनि आउनेछ भन्ने सोच्नु बुद्धिमानी हुने मेरो ठहर छ । यो प्रसंग एमाले पार्टीमा देखिएको ‘डन निर्भरता’ र ब्यवसायिक सुरक्षाको सवालमा आएको हो । बिराटनगरमा एक पत्रकार कुटिए । संयोगले आक्रमणकारी र योजनाकारहरु एमाले निकट परेछन् । अहिले त एमालेको सरकार छ, प्रधानमन्त्री एमालेका छन् । कुट्ने र मतियारहरुलाई समातेर कानुनी दायरामा ल्याउनु पर्ने सरकारको दायित्व हो । तर, एमाले स्वतन्त्रता पक्षधरहरुको पार्टी रहेनछ । ‘पत्रकार कुट्नेलाई मैले राखेको छु सक्छौ भने पक्राउ गरेर देखाओ’ भनेर एक एमालेका खोल ओढेका मुस्तण्डे चिच्याईरहेका छन् । सरकार ती मुस्तण्डे प्रति नतमस्तक छ । अझ नेपाल पत्रकार महासंघको स्थलगत प्रतिवेदन र आन्दोलन प्रति नै प्रेस चौतारी भन्ने एमाले पत्रकारहरुको संस्थाले त प्रश्नचिन्ह उठाएको छ । लिलाराजलाई कुट्नेहरुले भोलि बिष्णु रिजाललाई नकुट्लान् भन्न सकिन्न । अनि, त्यसबेला पनि ‘गुण्डा र डनहरुले उठाएर दिएको पैसाले चलेको पार्टी एमाले’ पर्शुराम बस्नेत र महेस बस्नेत नामधारीहरुको बिरोधमा जाने छैन । अहिले पार्टी निर्देशन बमोजिम प्रेस चौतारीको नामबाट महासंघको आन्दोलनको बिरोध गर्ने पत्रकारहरु त्यसबेला के गर्लान् ?

सबैका आफ्ना आफ्ना प्राथमिकता हुन्छन् । मेरो प्राथमिकता स्वतन्त्रता हो । अरुको प्राथमिकता पार्टी, पैसा, वा अन्य केही यस्तै होलान् । गुण्डा पालेर पार्टी बलियो बनाउन खोज्दैछ एमाले । तर, एमालेले बुझ्नेपर्छ, गुण्डाहरुको कुनै पार्टी हुदैंन । उनीहरु त राजनैतिक आवरणमा असिमित अपराध गर्न पाउने अधिकारका लागि पो पार्टीमा आएका हुन्छन् । गुण्डाहरु त भोलि अर्को पार्टीमा जानसक्छन् वा हिसाब मिलेन भने आफ्नै पार्टीका मान्छेहरुलाई नै सिध्याउन सक्छन् । म जस्तै लाखौं जनताले संगठित सदस्य भएवापत मासिक रुपमा तिरेको लेबीले चलेको पार्टी अहिले गुण्डाहरुको ‘मोहजाल’ मा कसरी फसंेको रहेछ भन्ने यो घटनाले प्रस्ट पारेको छ । स्वार्थपूर्तिका लागि नेताहरुले अपराधीहरुको प्रयोग गरेमा कसरी कालान्तरमा उनीहरु अपराधीकै चक्रब्युहमा फस्दा रहेछन् भनेर एमालेको यो घटना हेरेमा पर्याप्त छ । हुन त पर्शुराम, महेस बस्नेत वा झलनाथ, केपी माधव सबैलाई मानिसहरु एमाले भनेर चिनिरिहेका छन् । मलाई पनि  कोही कोही(पार्टी भित्रका केही मानिसहरु) एमाले नै भनेर चिनिरहेका होलान् । तर, म अपराधीहरुको पार्टी र अपराधीहरुलाई संरक्षण गर्ने पार्टीको बिरोध गर्छु । पहिले म आफूलाई ‘एमाले हूं’ भनेर सार्वजनिक रुपमा भन्न पाउंदा गर्व गर्थें, अहिले हिनताबोध र लाजको महसुस गर्छु । लाग्छ, एमाले अब हामीजस्ता जनताको पार्टी रहेन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s