रमाइलो गरौं न कहिले काहीं

 

Thank You for visiting my Blog

ब्लग हेर्नु भएकोमा धन्यवाद, कृपया सुझाव पनि दिनुहोला है…….

हान्ने होइन त बञ्जी जम्प ?

जाम्बिया-जाम्बेजी मैत्री पुल । यही पुलबाट तल जाम्बेजी नदिमा बञ्जी जम्प गरिन्छ । तस्वीर: सौजन्य ।

बञ्जी जम्पका बारेमा लिभिङ्स्टोनमा अनौठो चर्चा रहेछ । भिक्टोरीया फल्स आइपुग्नु अघि जाम्बेजी नदिले मुसोकोट्वाने, सेकुटी र मुकुनी चिफडम पार गर्नुपर्छ । जाम्बियामा चिफडम भनेको गाबिस भनेजस्तै हो, र चिफ भनेको त्यहांको प्रमुख कार्यकारी हो । चिफलाई रोयल हाइनेश भनेर सम्बोधन गरिन्छ राजकीय सम्मान दिइन्छ । कसैले आफ्नो अपमान गरेको महसुस भएमा त्यसलाई कारवाही गर्ने अधिकार चिफलाई प्राप्त हुन्छ ।

भिक्टोरीया फल्स नजिकै जाम्बिया र जिम्बावे जोड्ने मैत्री पुल छ । जाम्बेजी नदिमाथि बनेको यो पुल नदि भन्दा धेरै माथिको उचाईमा छ । त्यसैले यहांबाट बञ्जी जम्प हान्ने ब्यवस्था गरिएछ । यो क्षेत्रका चिफसंग बञ्जी जम्प कम्पनीका मान्छेहरुले बञ्जीबारे ब्याख्या गरेछन् । चिफलाई पनि एक पटक त हान्नु पो पर्यो के हुंदो रहेछ भनेर सुर चढेछ । उनी आफ्ना दुई बडिगार्डसंगै पुलमा आएछन् । एकदमै खातिरदारी गर्दै बञ्जी आयोजकले उनको शरीरमा बेल्ट बांधेछन् । खुट्टामा रोप कसेछन्, क्यामेराले फोटो खिचेछन् र माथिबाट ठेलिदिएछन् । चिफ उधों मुन्टो परेर खोला तिर फालिएछन् । खुट्टामा बांधिएको इलाष्टिकवाला रोपको सहायताले चार पांच पटक तलमाथि गर्दै खोला तर्फ मुन्टो फर्काएर छुत्ती खेलाईसकेपछि आयोजकले चिफलाई माथि तानेछन् ।

माथि चिफ आइपुग्दा थाहा भएछ, चिफ त जाम्बेजी नदि माथि छुत्ती खेल्दा गम्भीर समस्यामा पो परेका रहेछन् । उनी नदितिर हुत्याइएपछि, उनको पेट वाउंडिएछ र जवाफ दिएछ, फलस्वरुप उनलाई बञ्जी जम्पिङ् अवधिमै टुर्रे छुटेछ । तल सकुशल गएका चिफ त फर्किदा ठसठसी गनाउने भएर पो आइपुगेछन् । अब भने कर्मचारीले हांसो थाम्न सकेनछन्, हासौं, चिफको मानहानी गरेकोमा कारवाहीमा परिने डर, नहासौं चिफको हरिबिजोग । हांस्न खोज्दा रहेछन्, फेरी हिक्क हिक्क गर्दै हांसो रोक्दा रहेछन् । पुल माथि आइपुगेपछि बडीगार्डहरुलाई पनि कर्मचारीलाई झैं समस्या भएछ । तर पनि उनीहरु हिक्क, हिक्क गर्दै हासेछन् । आफैले गाडी चलाएर हिडेका चिफ फेरी फर्केर आएका छैनन् रे ।

भिक्टोरीया फल्स घुमिसकेपछि मैले गाइडलाई भनें, अब बञ्जी हान्न जाउं । उसले मैले बञ्जी हान्छु भनेर पत्याएन, यो कथा सुन्न पाइयो । अरुले बञ्जी जम्प हानेको देखेपछि मलाई पनि रहर त लागेको थियो, पछि फेरी चिफको कथा सम्भिएं, र मैले बञ्जी हान्ने मनसाय त्यागिदिएं । सोच्दैछु, हाने पनि बञ्जी जम्प नेपालकै द लाष्ट रिसोर्टमा गएर हानौंला । आफ्नै देशमा हान्दा त चिफको जस्तो अवस्था सृजना नहोला कि ।

स्वर्ग झैं सुन्दर भिक्टोरीया फल्स

जाम्बिया बसाईको मेरो सबै भन्दा अबिस्मरणीय क्षण मध्ये भिक्टोरीया फल्स घुमाई पनि एक रह्यो । बिश्व सम्पदा सुचिमा सन् १९८९ मा यो फल्स सुचिकृत भएको हो । जाम्बिया भएर बग्ने जाम्बेजी नदीबाट बनेको भिक्टोरीया फल्स जाम्बिया देखि जिम्बावेसम्म फैलिएको छ । बिश्वका सात प्राकृतिक आश्चर्य मध्येको एक यो फल्स जाम्बियाको दक्षिणी प्रान्तको सदरमुकाम लिभिङस्टोन देखि जिम्बावेको सिमाना ह्वांवे जिल्लासम्म फैलिएको छ । बिश्वको सबै भन्दा लामो झरनाको रुपमा रहेको भिक्टोरीया फल्स १ हजार ८ सय ८ मिटरसम्म फैलिएको छ ।

भिक्टोरीया फल्स मोसी-ओया-टुन्या राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । मोसी-ओया-टुन्या भनेको स्थानीय टोङ्गा भाषामा धुंवाहरुको मुस्लो हो । एक सेकेण्डमा करोडौं लिटर पानी १ सय ३ मिटरको उचाईबाट तल र्झछ । यसरी झरेको पानी एक अर्कामा ठोक्किएर बाछिटा भै धेरै परपरसम्म पुग्छ । यो बाछिटा ४ सय मिटर उचाईसम्म जान्छ । यसरी गएको बाछिटा धुंवाको मुस्लो झैं देखिन्छ । आकाशमा बादल लागेजस्तो यो दृश्य फल्स देखि ३० किलोमिटर टाढाबाट समेत देख्न सकिन्छ ।

भिक्टोरीया फल्स प्रवेशद्धार नजिकै डाक्टर डेभिड लिभिङ्स्टोनको प्रतिमा छ । यो फल्स उनैले पत्ता लगाएका हुन् । सन् १८५८ देखि ६४ सम्मको उनको Africa अन्वेषणका क्रममा सन् १८५५ मा यो फल्स पत्ता लागेको हो । पछि बि्रटेनकी तत्कालिन महारानीको नाममा यसको नाम रहन गएको हो ।

भिक्टोरीया फल्स घुम्न जांदा रेनकोट लगाएर जानु पर्छ होइनभने, फल्सको बाछिटाले निथ्रुक्कै बनाउंछ । पार्क भित्र एकातर्फबाट फल्स हेर्ने बाटो बनाइएको छ भने अर्को तर्फ जाम्बिया-जिम्बावे मैत्री पुल, जाम्बेजी नदी र अन्य प्राकृतिक दृश्य हेर्ने गोरेटो छ । नदिबाट पानी तल खस्दा आएको आवाज, त्यसबाट बाफ झैं निस्कने बाछिटा र त्यसमा सधैं बनिरहने इन्द्रधनुष साच्चै मनमोहक देखिन्छन् । यहां आएपछि मैले मनमनै यौटा निर्णय गरें, म फेरी जीवनमा अर्को पटक यो फल्स घुम्न आउनेछु ।

Please click on this link for more photos:

http://www.facebook.com/media/set/?set=a.2264250933541.2132918.1466532970&l=cd7e902be5&type=1

मेरा लागि आठौं आश्चर्य

बिश्वका सात प्राकृतिक आश्चर्य मध्येको एक भिक्टोरिया फल्स हेर्न म जुलाईको तेश्रो साता लिभिङस्टोन पुगेको थिएं । त्यहां मैले अर्को आठौं आश्चर्य पनि देख्न पाएं । त्यो आठौं आश्चर्य थियो, जिम्बावेको नोट । नेपालमा हुदां देखेको सबै भन्दा ठूलो नोट हजारको थियो, जाम्बिया आएपछि पांच, दश, बीस र पचास हजारसम्मका नोट देखें । तर लिभिङस्टोनमा देखिएका जिम्बावे डलर कतिका हुन् मैले हिसाब गर्न सकिंन ।

लौ हेर्नुहोस्, ठूला ठूला नोटहरु । फोटो -भूमि भण्डारी

एक, दश, सय, हजार, दश हजार, लाख भनेर गन्दै जांदा अरब, खरब, दश खरब पछि के आउंछ ? खै के आउंछ, के आउंछ । मलाई यत्रो हिसाब कहिल्यै गर्नु परेको थिएन, अनि कसरी थाहा हुन्छ । भिक्टोरिया फल्सको बाहिरका क्यूरियो पसलमा यस्ता नोट बेच्न राखिएका थिए । मैले नोट उठाएं र गन्न थालें, सय खरब जिम्बावे डलरको नोट सबभन्दा ठूलो नोट रहेछ ।

यस्तो अचम्मको नोट त किन्नु पर्छ भनेर यस्को दाम सोधें । पसले यौटाको दश डलर भन्दै थियो । मैले भनें-’तिम्रो यो नचल्ने नोट त कागज बराबर त हो नि, के को दश डलर ?’ बारगेनिङ गर्दा गर्दा मैले ५ बटा नोटहरु बीसहजार क्वाचा (तीन सय बीस नेपाली रुपैया) मा फुत्काएं । नोट किनेपछि धेरै बेर, धेरै पटक र धेरै दिन ती नोटहरुलाई हेरेर सोचिरहेको छु, यी रोवर्ट मुगावे भन्ने मान्छेले यस्ता खरबौंका नोट निकालेर गर्न चांही के खोजेका होलान् ।

जिम्बावेमा रोर्वट मुगावे र चांगाराई भन्ने दुई ब्यक्ति राजनैतिक रुपमा शक्तिशाली छन् । गएको चुनावमा मुगावेको पार्टी अगाडी आयो, उनी राष्ट्रपति भए । चांगाराईको पराजय भयो । पराजय पछि मुगावेसंग कसरी बदला लिने भनेर चांगाराईले योजना बनाउदै गर्दा, मुगावेले सबै गोराहरुको सम्पति कब्जा गरेर भूमिहीनहरुलाई बितरण गर्ने क्रान्तिकारी योजना ल्याए । बि्रटिस साम्राज्यको अधिनमा हुंदा रोडेशिया नामले चिनिएको जिम्बावे स्वतन्त्र भएपछि पनि केही गोराहरु त्यही देशमा बसे, उनीहरुका नाममा धेरै जमिन र सम्पति पनि थियो । सरकारसंग गरिबहरुका लागि दिन केही थिएन, तसर्थ सस्तो लोकपि्रयताका लागि सरकारले गोराहरुको सम्पति ताक्यो । यता चांगाराईलाई भने सरकारको बिरोध गर्ने राम्रो मसला मिल्यो ।

गोराहरु त शक्तिशाली थिए नै, अन्तराष्ट्रिय समुदायले समेत मुगावेले एकतन्त्रीय शासन लागू गर्न खोजेको भन्दै नाकाबन्दी गरे । मुगावे पनि के कम, समाधान ठूला ठूला नोट छापेर गर्न खोजे । नोट छापेर के को समाधान हुन्थ्यो । देशमा मुद्राSfiती बढ्यो । यौटा पाउरोटी किन्न पनि १ करोड डलर बोक्नु पर्ने भयो । त्यतिमात्र होइन देशको कूल ग्राहास्थ उत्पादन सन् २००७ र २००८ मा ऋणात्मक भयो । सहमतिमा नआउने चांगाराई र झुक्न नजान्ने मुगावेले देशलाई यस्तो स्थितिमा पुर्याएपछि सन् २००९ को सुरुमा दुबैको होस खुल्यो । मुगावे चांगाराईलाई प्रधानमन्त्री बनाउन तयार भए । त्यसपछि सोही बर्षको जनवरी देखि जिम्बावेमा दक्षिण African राण्ड र अमेरीकी डलर चल्तीमा आयो । यी खरबौं डलरका नोट सोही बर्षको अपि्रल देखि चल्न छाडे ।

अहिले भने यी नोट हामी जस्ता पर्यटकका लागि रमाइलो बनेका छन् । सन्सारका कुदै पनि देशले जिम्बावेको यो जस्तो दुर्दशा भोग्नु नपरोस् ।